काठमाडौँ ।आईसीसी टी–२० विश्वकप अन्तर्गत आजदेखि सुपर–एट चरणका खेल शुरू हुँदैछन्। समूह चरणबाट चार समूहका शीर्ष दुई–दुई टोलीले सुपर–एटमा स्थान सुरक्षित गरेका हुन्।
सुपर–एटको पहिलो खेल पाकिस्तान र न्युजिल्याण्डबीच हुनेछ। खेल कोलम्बोमा नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरू हुनेछ। आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्याण्ड सुपर–एटमा पुगेका छन्।
साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीचको खेल भोलि अहमदाबादमा हुनेछ। प्रतियोगिताको फाइनल खेल मार्च ८ तारिख अर्थात् यही फागुन २४ गते तय गरिएको छ।
यसैबीच, समूह चरणअन्तर्गत हिजो भएको अन्तिम खेलमा अस्ट्रेलियाले ओमानलाई ९ विकेटले पराजित गरेको छ। ओमानले दिएको १ सय ५ रनको लक्ष्य अस्ट्रेलियाले ९ ओभर ४ बलमा १ विकेटको क्षतिमा पूरा गरेको हो। यी दुवै टोली यसअघि नै समूह चरणबाट बाहिरिएका थिए।







