कैलाली । कैलालीमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।
भीमदत्त राजमार्ग अन्तर्गत धनगढी–डडेल्धुरा सडकखण्डको अत्तरिया वनदेवी क्षेत्रमा हिजो बेलुका दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाले जनाएको छ।
प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार सुदूरपश्चिम प्रदेश ०१–०१०३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२का २२ वर्षीय हरिश ओली, सुदूरपश्चिम प्रदेश ०१–००९ प ७७८१ नम्बरको मोटरसाइकल चालक गोदावरी नगरपालिका–१का २६ वर्षीय योगेन्द्र शाह र सोही मोटरसाइकलको पछाडि सवार २३ वर्षीय हरिश पार्कीको घटनास्थलमै ज्यान गएको हो।
दुर्घटनामा घाइते गोदावरी नगरपालिका–६ लालपुरका जीवन पाठकको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकल तीव्र गतिमा रहेकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







