‘अर्किड कप’ अन्तर्गत क्वाटरफाइनलका खेल सम्पन्न, भोलि सेमिफाइनलका खेल हुने

काठमाडौँ – काठमाडौँको गोठाटारमा जारी विद्यालयस्तरीय ‘अर्किड कप’ फुटबल प्रतियोगिता अन्तर्गत सातौँ दिनका खेल सम्पन्न भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ। फागुन १ गतेदेखि सुरु भएको प्रतियोगितामा आज भएका चार खेलपछि अन्तिम चार टोलीको टुंगो लागेको हो।

आजको पहिलो खेलमा विद्यावाणी र लाइसियमबीच निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा विद्यावाणीले ४–० ले बाजी मार्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो। खेलको ‘म्यान अफ द म्याच’ लाइसियमका ओम बिक्रम खड्का घोषित भए।

यस्तै अर्को खेलमा विद्या विकास (VBS) ले आयोजक अर्किड प्युपल सेकेण्डरी स्कुललाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्‍यो। उक्त खेलमा अर्किडका अभिजित ठकुरी ‘म्यान अफ द म्याच’ घोषित भए।

अर्को प्रतिस्पर्धात्मक खेलमा निर्मल ज्योतीले सुधा सागरलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान बनायो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुधा सागरका सुबिन भोलन ‘म्यान अफ द म्याच’ बने।

आजकै अन्तिम खेलमा एकलव्य स्कुलले गेटवेलाई १–० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्‍यो। खेलको ‘म्यान अफ द म्याच’ गेटवेका बिराज सिंह घोषित भए।

अब प्रतियोगिताको सेमिफाइनलमा भोलि निर्मल ज्योती र विद्यावाणीबीच पहिलो खेल हुनेछ भने दोस्रो खेलमा विद्या विकास र एकलव्य स्कुल आमनेसामने हुनेछन्। प्रतियोगिता रोमाञ्चक चरणमा प्रवेश गरेसँगै उपाधि होड झनै प्रतिस्पर्धात्मक बनेको छ। यसरी यहि फागुन १० गते भव्य समारोहकाबिच फाइनल खेल सहित १० ‌औँ संस्करणको अर्किड कप समापन हुनेछ ।

प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीहरूले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्