अर्किड कप’ फुटबल प्रतियोगिता आज भव्य रुपमा उद्घाटन

काठमाडौं । अर्किड प्युपल सेकण्डरी स्कुलको आयोजनामा १०औँ ‘अर्किड कप’ सेभेन–ए–साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता आज भव्य उद्घाटनसँगै औपचारिक रूपमा सुरु भएको छ। गोठाटारस्थित विद्यालय परिसरमा आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि नेपालको वर्तमान राष्ट्रिय गानका रचनाकार प्रदीप राई रहेका थिए। समारोहको सभाध्यक्षता विद्यालयका संस्थापक तथा सञ्चालक प्रेमकुमार भुजेलले गरेका थिए।

उद्घाटन समारोहमा नेसनल प्याब्सन काठमाडौंका अध्यक्ष अमृत खड्का, उपाध्यक्षहरू, सहसचिव प्राप्ति मल्ल, नेरिक एकेडेमीका प्रधानाध्यापक मिलन केसी, विश्वज्ञान पाठशालाका प्रधानाध्यापक मातृका कार्की लगायत विभिन्न विद्यालयका संस्थापक तथा प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले खेलकुदले विद्यार्थीमा अनुशासन, सहकार्य र नेतृत्व क्षमताको विकास गराउने उल्लेख गर्दै पढाइसँगै खेलकुद पनि उत्तिकै महत्वपूर्ण रहेको बताए। उनले यस्ता प्रतियोगिताले बालबालिकाको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै भविष्यका जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने धारणा व्यक्त गरे। विद्यालय तहबाटै खेलकुद संस्कृतिको विकास हुनुपर्नेमा उनले जोड दिए।

सभाध्यक्ष भुजेलले विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै ‘अर्किड कप’ विद्यार्थीको चौतर्फी विकासका लागि निरन्तर आयोजना हुँदै आएको कार्यक्रम भएको बताए। खेलकुदमार्फत प्रतिस्पर्धात्मक भावना, अनुशासन र टोलीगत सहकार्यको भावना विकास हुने उल्लेख गर्दै उनले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र व्यापक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

हरेक वर्ष आयोजना हुँदै आएको ‘अर्किड कप’को यो १०औँ संस्करण हो। प्रतियोगितामा कक्षा ७ सम्म अध्ययनरत तथा १३ वर्ष उमेर ननाघेका (२०६९ साल माघ २६ गतेपछि जन्मिएका) विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ। प्रतियोगिताका सम्पूर्ण खेलहरू गोठाटारस्थित विद्यालयको आफ्नै खेलमैदानमा सञ्चालन हुनेछन्।

यस वर्ष प्रतियोगितामा ४६ वटा विद्यालय सहभागी रहेका छन्, जसले प्रतिस्पर्धालाई अझ रोमाञ्चक बनाउने विश्वास आयोजकको छ। प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीहरूले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै विभिन्न व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कृत गरिने विद्यालयले जनाएको छ।

विद्यालयले शिक्षासँगै खेलकुद तथा अन्य अतिरिक्त गतिविधिमार्फत विद्यार्थीको समग्र विकासलाई प्राथमिकतामा राख्दै आएको र ‘अर्किड कप’ सोही प्रतिबद्धताको निरन्तरता भएको आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्