काठमाडौँ । रामेश्वर खनालले आगामी निर्वाचनका लागि आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आज नेपाल पर्यटन बोर्ड र परिसूचक मिडियाद्वारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’ कार्यक्रममा बोल्दै उहाँले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो।
अर्थमन्त्री खनालले अब राजनीतिक बहसभन्दा आर्थिक एजेन्डामा केन्द्रित हुने समय आएको उल्लेख गर्दै सरकारलाई राजनीतिक अस्थिरताको चक्रबाट बाहिर निकाल्नु नै अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको धारणा राख्नुभयो। उहाँले स्थिरता र आर्थिक सुधार सँगसँगै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
पर्यटन क्षेत्रको सन्दर्भमा बोल्दै उहाँले पर्यटनलाई उद्योगसरह सुविधा दिने अघिल्लो सरकारको प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्नुभयो। साथै पर्यटन क्षेत्रलाई पुनरुत्थान र विस्तार गर्न नीतिगत सुधार, लगानीमैत्री वातावरण र पूर्वाधार विकासमा सरकार गम्भीर रहेको बताउनुभयो।
देशको अर्थतन्त्र उकास्न सरकार विभिन्न नीतिगत सुधारका काममा जुटिरहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले राजस्व परिचालन, लगानी प्रवर्द्धन र उत्पादनमुखी क्षेत्रको सुदृढीकरणमा जोड दिइएको जानकारी दिनुभयो।







