निर्वाचन प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता, उत्कृष्टलाई ५० हजारसम्म पुरस्कार

काठमाडौँ । युवामाझ लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत निर्वाचनबारे जनचेतना फैलाउने उद्देश्यले निर्वाचन आयोगले टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने भएको छ। आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई केन्द्रमा राखेर आयोगले यस्तो अभियान अघि बढाएको हो।

आयोगका अनुसार राष्ट्रिय महत्त्वको निर्वाचनलाई भव्य, सभ्य र सहभागितामूलक बनाउन सामाजिक सञ्जालको प्रयोगलाई प्रोत्साहन गर्न लागिएको हो। निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षालाई लक्षित गर्दै एक मिनेट अवधिको सन्देशमूलक र संवादमूलक टिकटक भिडियो तयार गरी आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ। सो भिडियो फागुन १७ गतेभित्र आयोगको इमेलमा समेत पठाउनुपर्नेछ।

प्रतियोगितामा सहभागी भिडियोहरूमध्ये सबैभन्दा बढी भ्युज प्राप्त गर्ने उत्कृष्ट तीन भिडियोलाई पुरस्कार प्रदान गरिनेछ। पहिलो हुनेलाई ५० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार रुपैयाँ र तेस्रोलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोगले जनाएको छ।

भिडियो प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को सन्दर्भमा आधारित हुनुपर्नेछ। निर्वाचनको आवश्यकता र महत्त्व, मतपत्रमा सही तरिकाले छाप लगाउने प्रक्रिया, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, उपयुक्त उम्मेदवार छनोटजस्ता विषय समेटिनुपर्नेछ। मौलिक अडियो, आफ्नै अभिनय र सिर्जनशील प्रस्तुतिलाई विशेष प्राथमिकता दिइने जनाइएको छ।

एक व्यक्तिले एक विषयमा एउटा मात्र भिडियो पठाउन सक्नेछन् भने दुई वा दुईभन्दा बढी व्यक्ति मिलेर पनि भिडियो निर्माण गर्न सकिनेछ। प्राप्त भिडियोमाथि आयोगको अधिकार रहनेछ र आवश्यक परे आयोगले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत प्रसारण गर्न सक्नेछ।

तोकिएका शर्त पूरा नगरेका वा म्याद नाघेर प्राप्त भएका भिडियोहरू स्वीकार नगर्ने स्पष्ट गरिएको छ। उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगको मूल्यांकनका आधारमा गरिने सूचनामा उल्लेख छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्