पाँच वर्षमा १०० खर्बको अर्थतन्त्र बनाउने एमालेको घोषणा, वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो नेतृत्वमा सरकार गठन भएको पाँच वर्षभित्र देशको अर्थतन्त्रको आकार १०० खर्ब रुपैयाँ पुर्‍याउने महत्वाकांक्षी घोषणा गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणापत्रमा एमालेले यस्तो लक्ष्य अघि सारेको हो।

घोषणापत्रअनुसार ७ देखि ९ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्दै पाँच वर्षमा १०० खर्ब र दस वर्षमा २०० खर्ब रुपैयाँको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखिएको छ। कृषि उत्पादकत्व वृद्धि, विद्युत् उत्पादन क्षमता विस्तार, खनिज तथा औद्योगिक उत्पादन वृद्धि र भौतिक पूर्वाधारमा तीव्र विकासमार्फत लक्ष्य हासिल गर्ने एमालेको योजना छ।

एमालेले प्रतिव्यक्ति आय पाँच वर्षमा ३ हजार अमेरिकी डलरसम्म पुर्‍याउने घोषणा गरेको छ। साथै सरकार बनेको दुई वर्षभित्र सबै नागरिकको घरमा खानेपानी सुविधा पुर्‍याउने प्रतिबद्धता जनाएको छ। श्रम क्षेत्र सुधारअन्तर्गत न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने उल्लेख गरिएको छ। उच्च आर्थिक वृद्धिबाट वार्षिक चार लाख र सूचना प्रविधि क्षेत्रसहित लक्षित रोजगारी कार्यक्रममार्फत थप एक लाख गरी वार्षिक पाँच लाख रोजगारी सिर्जना गर्ने योजना घोषणापत्रमा समेटिएको छ।

उद्योग क्षेत्र विस्तार गरी कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान दोब्बर बनाउने, पर्यटन पूर्वाधार विकास, बजार प्रवर्द्धन, हवाई सेवा विस्तार र आन्तरिक सुरक्षाको सुदृढीकरणमार्फत पाँच वर्षभित्र पर्यटक आगमन दोब्बर बनाउने लक्ष्य पनि एमालेले राखेको छ।

त्यसैगरी पाँच वर्षभित्र थप तीन लाख हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने, सबै स्थानीय तहमा अस्पताल पूर्वाधार निर्माण गर्ने, आधुनिक उपकरण उपलब्ध गराउने तथा जनशक्ति व्यवस्थापनमार्फत विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। सडक पूर्वाधार सुधारअन्तर्गत एक लेनका सडकलाई दुई लेनमा स्तरोन्नति गर्ने योजना पनि घोषणापत्रमा उल्लेख गरिएको छ। एमालेले यी कार्यक्रममार्फत समृद्ध नेपाल निर्माण गर्ने दाबी गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्