काठमाडौँ । आज विश्वभर विभिन्न कार्यक्रम गरी विश्व सामाजिक न्याय दिवस मनाइँदै छ। सामाजिक न्याय, समान अवसर, श्रम अधिकार र गरिमायुक्त कामको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायलाई एकजुट गराउने उद्देश्यले हरेक वर्ष फेब्रुअरी २० मा यो दिवस मनाउने गरिन्छ।
यस दिवसलाई अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ)को तत्वावधानमा विशेष रूपमा मनाइन्छ। सन् २००७ नोभेम्बर २६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको प्रस्तावअनुसार सन् २००९ देखि प्रत्येक वर्ष फेब्रुअरी २० मा विश्व सामाजिक न्याय दिवस मनाउने निर्णय गरिएको हो।
सामाजिक न्यायको अवधारणाले सबै व्यक्तिलाई समान अवसर, भेदभावरहित व्यवहार, सुरक्षित तथा गरिमायुक्त रोजगारी, उचित पारिश्रमिक र सामाजिक सुरक्षाको सुनिश्चितता गर्नुपर्ने कुरामा जोड दिन्छ। विशेषगरी श्रमिक अधिकार, लैङ्गिक समानता, बालश्रम उन्मूलन, गरिबी न्यूनीकरण र समावेशी विकासजस्ता विषय यस दिवसका प्रमुख एजेन्डा हुन्।
विश्वका विभिन्न देशमा गोष्ठी, अन्तरक्रिया, सचेतनामूलक कार्यक्रम तथा नीति–संवादमार्फत सामाजिक असमानता न्यूनीकरण र श्रम अधिकार सुदृढीकरणका विषयमा छलफल गरिँदै आएको छ। सामाजिक न्यायको आधारमा दिगो विकास र शान्तिपूर्ण समाज निर्माण सम्भव हुने विश्वाससहित आजको दिनलाई महत्वपूर्ण रूपमा लिने गरिएको छ।







