नेक्सस इन्टरनेशनल स्कुलमा अभिभावक दिवस भव्य रूपमा सम्पन्न, शिक्षक–कर्मचारी सम्मानित

काठमाडौँ – नेक्सस इन्टरनेशनल स्कुलले अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ। विद्यालयले दुई दिनसम्म विशेष कार्यक्रम आयोजना गरी अभिभावक, विद्यार्थी तथा शिक्षक–कर्मचारीको सहभागितामा विविध सांस्कृतिक तथा शैक्षिक गतिविधि प्रस्तुत गरेको हो।

पहिलो दिन बुधबार कक्षा ६ सम्मका विद्यार्थीका अभिभावकलाई लक्षित गर्दै कार्यक्रम गरिएको थियो। त्यस अवसरमा साना कक्षाका विद्यार्थीहरूले विभिन्न नृत्य, नाटक, समूह प्रस्तुति तथा सृजनात्मक गतिविधि प्रदर्शन गरेका थिए। बालबालिकाको आत्मविश्वास, प्रस्तुति कौशल र सिर्जनशीलता झल्किने कार्यक्रमले अभिभावकहरू उत्साहित बनेका थिए।

दोस्रो दिन बिहीबार कक्षा १० सम्मका विद्यार्थीका अभिभावकहरूको सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक नृत्य, मौलिक भेषभूषा प्रदर्शन, नेपाली लोक तथा आधुनिक गीतमा नृत्य प्रस्तुति, सन्देशमूलक नाटक तथा समूह गायन प्रस्तुत गरिएको थियो। विविध सांस्कृतिक प्रस्तुतिमार्फत विद्यालयले ‘विविधतामा एकता’को सन्देश प्रवाह गरेको जनाएको छ।

कार्यक्रमका क्रममा शैक्षिक, अनुशासन, नेतृत्व लगायत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई अवार्ड प्रदान गरिएको थियो। साथै विद्यालयमा ५ वर्ष, १० वर्ष र २० वर्षदेखि निरन्तर सेवा पुर्‍याउँदै आएका शिक्षक–शिक्षिका तथा कर्मचारीलाई सम्मान गरिएको थियो। विद्यालय परिवारप्रति दीर्घकालीन योगदानको कदर गर्दै सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल आरबी कटवालले विद्यालयका गतिविधि, शैक्षिक उपलब्धि तथा भावी योजनाबारे प्रकाश पार्नुभयो। उहाँले गुणस्तरीय शिक्षा, प्रविधिमैत्री सिकाइ प्रणाली, विद्यार्थीको समग्र व्यक्तित्व विकास र अनुशासित वातावरण विद्यालयको प्राथमिकता रहेको बताउनुभयो। अभिभावकको साथ, सहयोग र विश्वास नै विद्यालयको मुख्य शक्ति भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैबीच, विद्यालयले भोलि शुक्रबार अन्तरविद्यालय चित्रकला प्रदर्शनी आयोजना गर्ने जनाएको छ। उक्त प्रदर्शनीमा २० भन्दा बढी विद्यालयको सहभागिता रहने बताइएको छ। विद्यार्थीको सिर्जनशीलता र कलात्मक प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीले विद्यालयहरूबीच आपसी सहकार्य र अनुभव आदान–प्रदानलाई समेत टेवा पुग्ने विश्वास लिइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्