काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा चुनाव २०८२ का लागि तयार पारिएको प्रतिज्ञापत्रको पूर्ण विवरण सार्वजनिक गरेको छ। हिजो धनुषामा आंशिक रूपमा सार्वजनिक गरिएको प्रतिज्ञापत्र आज काठमाडौंमा आयोजित प्रश्नोत्तर कार्यक्रमपछि औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
करिब दुई सय पृष्ठ लामो प्रतिज्ञापत्र सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई केन्द्रमा राखेर तयार गरिएको कांग्रेसले जनाएको छ। २०४८ सालदेखि सार्वजनिक पद धारण गरेका सबै उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने प्रतिवद्धता प्रतिज्ञापत्रमा उल्लेख छ।
आर्थिक क्षेत्रतर्फ कांग्रेसले वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ। आगामी पाँच वर्षमा कम्तीमा १५ लाख रोजगारी सिर्जना गर्ने, १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने तथा विद्युत् उत्पादन क्षमता १५ हजार मेगावाट पुर्याउने योजना पनि सार्वजनिक गरिएको छ।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै कांग्रेसले ३ वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ। साथै क्यान्सर र मिर्गौला जस्ता गम्भीर रोगका बिरामीलाई उपचार खर्चको सुनिश्चितता तथा विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमाको ग्यारेन्टी गर्ने उल्लेख गरिएको छ।
कांग्रेसले प्रतिज्ञापत्रमार्फत सुशासन, आर्थिक समृद्धि र सामाजिक सुरक्षालाई मुख्य एजेन्डा बनाएको जनाएको छ।







