काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो सय बुँदे ‘वाचापत्र’ सार्वजनिक गरेको छ। परम्परागत घोषणापत्रलाई ‘वाचापत्र’ नाम दिएको पार्टीले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विशेष कार्यक्रम आयोजना गरी दस्तावेज सार्वजनिक गरेको हो।
वाचापत्रमा सुशासन, पारदर्शिता, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ। भ्रष्टाचार नियन्त्रणलाई शीर्ष एजेन्डा बनाउँदै सरकारी सेवामा डिजिटल प्रणालीको विस्तार, सेवाग्राहीमैत्री प्रशासन र पारदर्शी सार्वजनिक खरिद प्रणाली लागू गर्ने प्रतिबद्धता जनाइएको छ।
युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्न सहुलियतपूर्ण कर्जा, सीप विकास कार्यक्रम तथा स्टार्टअप प्रवर्द्धन योजनालाई प्राथमिकतामा राखिएको छ। साथै स्थानीय उत्पादनको बजारीकरण, कृषि आधुनिकीकरण र कर्णाली प्रदेशमा विशेष पूर्वाधार कार्यक्रम सञ्चालन गर्ने योजना पनि वाचापत्रमा समेटिएको छ।
रास्वपाले ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनात्मक सम्बन्धलाई कदर गर्दै केही विशिष्ट अपवादबाहेक सिद्धान्ततः दोहोरो नागरिकताको पक्षमा उभिएको उल्लेख गरेको छ। गैरआवासीय नेपालीको सम्पत्ति अधिकारमा देखिएका प्रशासनिक झन्झट तत्काल अन्त्य गर्ने प्रतिबद्धता पनि पार्टीले व्यक्त गरेको छ।
पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायत नेताहरूले संयुक्त रूपमा वाचापत्र सार्वजनिक गर्दै यसलाई ‘नयाँ राजनीतिक संस्कार र जवाफदेहिताको दस्तावेज’का रूपमा कार्यान्वयन गर्ने दाबी गरेका छन्। आगामी निर्वाचनमा मतदातासमक्ष वैकल्पिक शक्ति प्रस्तुत गर्ने लक्ष्यसहित रास्वपाले देशभर चुनावी अभियानलाई तीव्र बनाउने जनाएको छ।







