जेनेभा । करिब चार वर्षदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले रुस र युक्रेन बीच जेनेभामा भएको दुई दिने वार्ता कुनै ठोस सहमतिबिनै सम्पन्न भएको छ। दुवै पक्षले वार्ता औपचारिक रूपमा अघि बढेको जनाए पनि मुख्य मुद्दामा सहमति जुट्न नसकेको बताएका छन्।
संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको उक्त वार्तामा मुख्य विवादको विषय भू–भाग नै रहेको थियो। रुसले पूर्वी दोनेत्स्क क्षेत्रको बाँकी करिब २० प्रतिशत भूभाग युक्रेनले छोड्नुपर्ने अडान राखेको बताइएको छ। तर युक्रेनले उक्त प्रस्ताव अस्वीकार गर्दै सम्भावित सम्झौतापछि पुनः आक्रमण हुन नदिन पश्चिमी मुलुकहरूबाट कडा सुरक्षा प्रत्याभूति आवश्यक रहेको स्पष्ट पारेको थियो।
यसअघि जनवरी तथा फेब्रुअरीको सुरुवातमा संयुक्त अरब इमिरेट्स (यूएई) मा पनि अमेरिकाकै मध्यस्थतामा वार्ता भएको थियो। तर ती प्रयासहरू पनि निर्णायक निष्कर्षमा पुग्न सकेका थिएनन्।
रुसी टोलीका प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्कीले दुई दिनको छलफल कठिन भए पनि कार्यगत रूपमा अघि बढेको प्रतिक्रिया दिएका छन्। उनले निकट भविष्यमै थप वार्ता हुने संकेत गरे पनि मिति भने सार्वजनिक गरेनन्।
युक्रेनी टोलीका प्रमुख रुस्तम उमरोभले दोस्रो दिनको बैठकलाई गहन र सारगर्भित भनेका छन्। उनका अनुसार दुवै पक्ष राष्ट्रपतिसमक्ष प्रस्तुत गर्न सकिने सम्भावित निर्णयतर्फ काम गरिरहेका छन्।
युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायको चासो बढ्दो भए पनि हालसम्म कुनै निर्णायक प्रगति हुन सकेको छैन। युद्धविराम, सुरक्षा ग्यारेन्टी र भू–राजनीतिक सन्तुलनका विषयमा मतभेद कायम रहँदा वार्ता प्रक्रिया अझै जटिल बनेको विश्लेषकहरू बताउँछन्।







