अर्किड कपः आजको खेलमा विद्यावाणी, कस्तुप, विद्या विकास, गेटवे र ग्रीनवीच विजयी

काठमाडौँ । विद्यालयस्तरीय ‘अर्किड कप’ फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलहरूमा विभिन्न विद्यालयले प्रभावशाली प्रदर्शन गर्दै जीत हात पारेका छन्। यस वर्ष प्रतियोगितामा ४६ वटा विद्यालय सहभागी रहेकाले प्रतिस्पर्धा झन् रोमाञ्चक बन्दै गएको छ।

विद्यावाणी र नेशनल ब्लमिङबीच भएको खेलमा विद्यावाणी २–० गोल अन्तरले विजयी भयो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेशनल ब्लमिङका सुप्रभ श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए। यस्तै कस्तुप एकेडेमी र हाइसेसबीच भएको खेलमा कस्तुपले ३–० को सहज जित निकाल्यो। हारका बाबजुद हाइसेसका विशला नेपालीको प्रदर्शन प्रभावशाली रहँदा उनी ‘म्यान अफ द म्याच’ घोषित भए।

ब्रह्मकुञ्ज र विद्या विकासबीच भएको प्रतिस्पर्धात्मक खेलमा विद्या विकास २–१ गोलले विजयी भयो। खेलमा ब्रह्मकुञ्जका क्रीशीभ ढकाल उत्कृष्ट प्रदर्शनका कारण ‘म्यान अफ द म्याच’ चुनिए।

नेक्सस इन्टरनेशनल स्कुल र गेटवे एकेडेमीबीच भएको खेलमा गेटवे ३–१ गोल अन्तरले विजयी भयो। नेक्ससका विराज ‘म्यान अफ द म्याच’ घोषित भए। त्यसैगरी, ग्रीनवीच स्कुल र कस्मिक स्कुलबीच भएको खेलमा ग्रीनवीच १–० गोल अन्तरले विजयी भयो। कस्मिकका नयन शंकर उत्कृष्ट प्रदर्शनका लागि ‘म्यान अफ द म्याच’ घोषित भए।

प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीहरूले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। फागुन १० गते हुने फाइनल खेलसँगै प्रतियोगिताको समापन हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्