काठमाडौँ । ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै खराब पक्ष बोकेको व्यवस्थालाई फ्याँक्नुपर्ने बताएका छन्। ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले वर्तमान विषम परिस्थितिमा राष्ट्रिय समस्या समाधान नगरी निर्वाचनमा जानु उचित नहुने धारणा राखेका हुन्।
मुलुक अस्वाभाविक छटपटीको भुमरीमा फसेको टिप्पणी गर्दै उनले जुनसुकै व्यवस्थाका पनि राम्रा पक्षलाई ग्रहण गर्नुपर्ने तर खराब पक्ष त्याग्नुपर्नेमा जोड दिए। “कुनै व्यवस्थाको राम्रा र असल पक्षहरू टिप्नु र राख्नुपर्छ। जुनै व्यवस्थाको नराम्रो र खराब पक्षहरू हुन्छन्, त्यस्तालाई फाल्नु र फ्याँक्नुपर्छ,” सन्देशमा उनले उल्लेख गरेका छन्।
देशको भू–बनोट र समाजको प्रकृति सुहाउँदो व्यवस्थाले मात्र सकारात्मक परिणाम दिने जिकिर गर्दै उनले वर्तमान अवस्थामा चुनावको औचित्यमाथि प्रश्न उठाए। प्रजातन्त्रमा आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि अहिलेको आम जनभावना राष्ट्रिय संकट समाधानतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ।
“मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो,” सन्देशमा भनिएको छ।
हालको राजनीतिक नेतृत्वप्रति कडा टिप्पणी गर्दै उनले ‘आलोपालो र भाग लगाएर खाऔँ’ भन्ने सोचले देश नबन्ने बताए। अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाएको र देश ‘बाध्यात्मक व्यवस्थाको जञ्जिर’ मा बाँधिएको उनको टिप्पणी छ। अरूको भरमा परेर अक्करमा नपर्न उनले नेतृत्वलाई सचेत गराएका छन्।
विगतका आन्दोलन र संघर्षले ल्याएका परिवर्तनले देश र जनतालाई वास्तवमा के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको उल्लेख गर्दै उनले देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेको दाबी गरे। एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा उनले जोड दिएका छन्।
झापा बसाइपछि काठमाडौँ फर्कने क्रममा जनताबाट प्राप्त स्नेह र समर्थनले आफूलाई राष्ट्रप्रति थप जिम्मेवार बनाएको उल्लेख गर्दै उनले गरिबी र अस्थिरतालाई नेपालको मुख्य शत्रुका रूपमा चित्रण गरे।
प्रजातन्त्र दिवसको सन्दर्भमा उनले प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने जिजुबुवा त्रिभुवन र ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विश्वसामु नेपालीको शिर उच्च हुने व्यवस्थाको वकालत गरेका छन्। प्रजातन्त्र दिवस बिहीबार मनाइँदै छ।







