सुशासन र समुन्नति कायम गर्ने उद्देश्यसहित कांग्रेसको १० बुँदे विस्तृत भिजन सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसले मुलुकमा सुशासन र समुन्नति कायम गर्ने उद्देश्यसहित आफ्नो १० बुँदे विस्तृत भिजन सार्वजनिक गरेको छ। जनकपुरमा बुधबार आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने मूल नारासहित आगामी पाँच वर्षका प्राथमिकता र लक्ष्यहरू सार्वजनिक गरिएको हो।

‘बदलियो कांग्रेस, बदलिन्छ देश’ भन्ने उद्घोषका साथ सार्वजनिक भिजनमा नागरिकको जीवनस्तर उकास्ने, विधिको शासन सुदृढ गर्ने र आर्थिक समृद्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। पार्टीले परिकल्पना गरेको नेपालमा नागरिकको आत्मसम्मानलाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गर्दै जात, धर्म, लिङ्ग वा क्षेत्रका आधारमा हुने विभेद अन्त्य गर्ने लक्ष्य लिइएको जनाएको छ।

भिजन दस्तावेजमा विधिको शासन कडाइका साथ लागू गरिने, सत्ता र शक्तिको पहुँचका आधारमा पाइने विशेषाधिकार अन्त्य गरिने तथा प्रशासनिक सेवा प्रवाहलाई बेथिति र हैरानीमुक्त बनाइने उल्लेख छ। भ्रष्टाचार नियन्त्रण र सरकारी सेवामा हुने ढिलासुस्ती अन्त्य गर्दै नागरिकले घरमै बसेर सेवा पाउने व्यवस्था मिलाइने दाबी गरिएको छ।

आर्थिक समृद्धिका सन्दर्भमा निजी क्षेत्रको प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण र सम्पत्ति सिर्जनालाई प्रोत्साहन गर्ने नीति अघि सारिएको छ। स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरूलाई नेपालमै भविष्य देख्न सक्ने वातावरण बनाउने तथा वैदेशिक पलायन रोक्ने रणनीति दस्तावेजमा समेटिएको छ।

कृषिलाई मर्यादित र आकर्षक पेसाका रूपमा विकास गर्दै प्रविधि र बजार व्यवस्थापनमार्फत उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ। पर्यटन, ऊर्जा र पूर्वाधार क्षेत्रको विकासलाई तीव्रता दिँदै समुन्नतिको मार्गमा अघि बढ्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको छ।

आधारभूत सेवा सुविधातर्फ शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व बढाउने प्रतिबद्धता जनाइएको छ। उपचारकै कारण कोही पनि गरिब हुनु नपर्ने व्यवस्था सुनिश्चित गर्दै गुणस्तरीय स्वास्थ्य बीमा प्रणाली सुदृढ गरिने उल्लेख छ।

त्यस्तै, गुणस्तरीय शिक्षामा समान पहुँच सुनिश्चित गरी अभिभावकमाथि पर्ने आर्थिक भार घटाउने, दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने तथा आधुनिक प्रविधिमैत्री शिक्षा प्रणाली विकास गर्ने लक्ष्य राखिएको छ।

भिजनमा नेपालको मौलिक विविधता, भाषा, संस्कृति र सम्पदामा गर्व गर्दै आधुनिकतालाई आत्मसात गर्ने तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्वाभिमान उच्च राख्ने सन्तुलित विदेश नीति अवलम्बन गरिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्