काठमाडौं —टर्कीको इस्तानबुलबाट काठमाडौंका लागि उडेको टर्किस एयरलाइन्सको जहाज अवतरणको क्रममा प्राविधिक समस्या देखिएपछि ‘ओभरसुट’ गर्दै बंगलादेशको ढाका डाइभर्ट गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार टर्किस एयरलाइन्सको उडान नम्बर टीके–७२६ अवतरण गर्ने क्रममा जहाजमै समस्या देखिएको हो। विमानस्थलका कारण नभई जहाजको प्राविधिक अवस्थाका कारण अवतरण नगर्ने निर्णय चालकदलले गरेको र त्यसपछि जहाज ढाका मोडिएको एक अधिकारीले जानकारी दिए।
टर्किस एयरलाइन्सको ए–३३० सिरिजको वाइडबडी जहाज बुधबार बिहान ११:१० बजे अवतरण गर्ने तालिका थियो भने १०:५६ बजे काठमाडौं आइपुग्ने अनुमान गरिएको थियो। जहाज अहिले ढाकामा सुरक्षित अवतरण गरिसकेको छ।
यसअघि पनि २१ माघमा सोही एयरलाइन्सको जहाज काठमाडौंबाट उडेलगत्तै दायाँ इन्जिनमा आगलागी भएपछि करिब १५ मिनेट ‘होल्ड’ गरी भारतको कोलकाता डाइभर्ट गरिएको थियो।
यता थाइल्यान्डको बैंककबाट आएको थाई एयरवेजको जहाज भने काठमाडौंमा हावाहुरीका कारण तत्काल अवतरण गर्न नसकी केहीबेर आकाशमै ‘होल्ड’ गरिएको थियो। उक्त जहाज अहिले सुरक्षित अवतरण गरिसकेको विमानस्थलले जनाएको छ।







