काठमाडौँ – निर्वाचन आयोग ले चुनावी गतिविधिका क्रममा प्रविधिको दुरुपयोग नगर्न सबै राजनीतिक दल, उम्मेदवार, सञ्चार माध्यम तथा सरोकारवाला पक्षलाई आग्रह गरेको छ। प्रविधिको अनुचित प्रयोगले निर्वाचनको निष्पक्षता र विश्वसनीयतामै प्रश्न उठ्न सक्ने भन्दै आयोगले गम्भीर बन्न ध्यानाकर्षण गराएको हो।
आयोगले विशेषगरी सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह नगर्न तथा नगराउन आग्रह गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) प्रयोग गरेर तयार पारिएका भ्रामक सामग्री सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गर्नुभएको छ। यस्ता सामग्रीले मतदातामा भ्रम सिर्जना गर्न सक्ने र निर्वाचनको मर्यादा कमजोर बनाउन सक्ने उहाँको भनाइ छ।
उहाँले निर्वाचन केन्द्रित मत सर्वेक्षण (ओपिनियन पोल) गरी त्यसको नतिजा सार्वजनिक नगर्न पनि आग्रह गर्नुभएको छ। निर्वाचन आचारसंहिता, २०८२ ले मतदाताको स्वतन्त्र निर्णय प्रक्रियामा असर पार्न सक्ने गतिविधिलाई निषेध गरेको उल्लेख गर्दै आयोगले पूर्वानुमानात्मक नतिजा सार्वजनिक गरेर उम्मेदवारलाई हतोत्साही बनाउने तथा प्रतिस्पर्धाको वातावरणमा खलल पुर्याउने कार्य नगर्न सचेत गराएको छ।
नयाँ प्रविधिले सूचना प्रवाहलाई सहज र तीव्र बनाएको भए पनि त्यसको दुरुपयोगले लोकतान्त्रिक प्रक्रियामा नकारात्मक प्रभाव पार्न सक्ने आयोगको ठहर छ। निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नु सबै पक्षको दायित्व भएको स्मरण गराउँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जिम्मेवार र मर्यादित आचरण अपनाउन आह्वान गर्नुभएको छ।








