करिब २५० नेपालीलाई अवैध रूपमा अमेरिका पुर्‍याउने दुई जना विरूद्ध मुद्दा

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) कसुरमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत फागुन ४ गते आरोपपत्र दायर गरिएको प्रहरीले जनाएको छ। मुद्दा रूकुम पश्चिम साविक बाफिकोट गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्ने कलबहादुर बस्नेत र रूकुम पूर्व सिस्ने गाउँपालिका–५ घर भई हाल काठमाडौं बस्ने अमित बस्नेतविरुद्ध दायर गरिएको हो।

प्रहरीका अनुसार कलबहादुर बस्नेत मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पुर्पक्षका लागि कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका छन् भने अमित बस्नेत फरार छन्। अनुसन्धानका क्रममा प्रतिवादीहरूले करिब २५० जना नेपालीलाई गैरकानुनी बाटो प्रयोग गरी विभिन्न देश हुँदै अमेरिका प्रवेश गराएको, केहीलाई अमेरिका लैजाने भन्दै विभिन्न मुलुकमा अलपत्र पारेको तथा मानव बेचबिखन, ठगी र वैदेशिक रोजगार ठगीसम्बन्धी कसुर गरेको खुलेको छ।

ब्युरोका अनुसार अवैध कार्यबाट आर्जित रकम नगद तथा विभिन्न बैंक खातामार्फत शुद्धीकरण गरिएको पाइएको छ। कलबहादुर बस्नेतको नाममा ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ ३३ पैसा र अमित बस्नेतको नाममा २७ करोड ४५ लाख २९ हजार ०२८ रुपैयाँ ९४ पैसा गरी कुल ९८ करोड ५ लाख ८२ हजार ७५१ रुपैयाँ २७ पैसा बराबरको बिगो कायम गरिएको छ। सोही बिगो बराबरको दोब्बर जरिवाना, कसुरको मात्रा अनुसार दुईदेखि १५ वर्षसम्म कैद सजाय तथा नाममा रहेका घरजग्गा, बैंक मौज्दात र बीमा रकम जफत गर्न मागदाबी गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्