बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का अध्यक्ष तारिक रहमानले मंगलबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्। ढाकास्थित संसद भवन परिसरमा आयोजित विशेष समारोहमा उनलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनले शपथ गराएका हुन्। यसअघि शपथ ग्रहण कार्यक्रम राष्ट्रपति भवनमा हुँदै आएको थियो भने यसपटक खुला मञ्चबाट आयोजना गरिएको हो। शपथपछि प्रधानमन्त्री रहमानले मुलुकमा शान्ति र कानुनी व्यवस्था कायम राख्ने प्रतिबद्धता जनाउँदै कुनै पनि प्रकारको अराजकता नसहने चेतावनी दिए। फेब्रुअरी १२ मा सम्पन्न निर्वाचनमा बीएनपीले दुई तिहाइ बहुमत हासिल गरेको थियो भने प्रमुख प्रतिस्पर्धी दल अवामी लिगमाथि प्रतिबन्ध लगाइएको थियो।
१७ वर्ष निर्वासनमा बसेपछि स्वदेश फर्किएका रहमान पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुन्। सन् २००७ मा भ्रष्टाचार आरोपमा पक्राउ परेर करिब १८ महिना जेल बसेका उनी सन् २००८ देखि लन्डनमा बस्दै आएका थिए। गत वर्ष आमाको निधनपछि उनी सक्रिय राजनीतिमा फर्किएका हुन्। शपथ ग्रहणपछि २५ मन्त्री र २४ राज्यमन्त्रीले पनि पदभार ग्रहण गरेका छन्।








