१२ वर्षपछि नेपालको ऐतिहासिक जित, स्कटल्यान्ड ७ विकेटले पराजित

काठमाडौँ- आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा नेपालले ऐतिहासिक जित दर्ता गरेको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशाला मा सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकपमा जित निकाल्न सफल भयो। नेपालले दिएको १७१ रनको लक्ष्य १९.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। यसअघि नेपालले सन् २०१४ मा अफगानिस्तान लाई हराएपछि विश्वकपमा जित हात पारेको थियो। समूह चरणका पहिलो तीन खेलमा पराजित भई बाहिरिएको नेपालले अन्तिम खेलमा सान्त्वना जित निकाल्दै प्रतियोगिताको अन्त्य सुखद बनायो।

नेपालको जितका नायक दीपेन्द्रसिंह ऐरी बने। उनले अविजित ५० रनको महत्वपूर्ण पारी खेले भने गुल्सन झाले २४ रनमा नटआउट रहँदै साथ दिए। यससँगै दीपेन्द्र नेपालका लागि विश्वकपमा दुई अर्धशतक प्रहार गर्ने पहिलो तथा लगातार अर्धशतक बनाउने पहिलो खेलाडी बने। उनले यसअघि वेस्ट इन्डिज विरुद्ध पनि अर्धशतक बनाएका थिए। लक्ष्य पछ्याउने क्रममा नेपालले उत्कृष्ट सुरुवात गरेको थियो। पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ७४ रनको साझेदारी गरे। भुर्तेलले ३५ बलमा ४३ रन बनाउँदा ४ छक्का प्रहार गरे भने आसिफले २७ बलमा ३३ रन जोडे। कप्तान रोहित कुमार पौडेलले १६ रन बनाए। सुरुवाती तीनै विकेट स्कटल्यान्डका स्पिनर माइकल लिस्कले लिए पनि त्यसपछि दीपेन्द्रले इनिङ्स सम्हाल्दै नेपाललाई जिततर्फ डोर्‍याए। उनले १८औँ ओभरमा ब्राड ह्विललाई छक्का र चौका प्रहार गर्दै दबाब कम गरे भने अर्को ओभरमा गुल्सन झाले ब्राड करीलाई छक्का हानेर जित नजिक पुर्‍याए।

यसअघि टस जितेर बलिङ रोजेको नेपालविरुद्ध पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो। स्कटल्यान्डका ओपनर माइकल जोन्सले ७१ रनको अर्धशतकीय पारी खेले भने जर्ज मुन्सेले २७ रन जोडे। पहिलो विकेटका लागि स्कटल्यान्डले ८० रनको साझेदारी गरेको थियो। नेपालका लागि सोमपाल कामी सर्वाधिक सफल बलर बने। उनले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिए भने रोहित पौडेल र कुशल भुर्तेलले एक–एक विकेट हात पारे। सुरुवातमा दबाबमा परेको नेपालले अन्तिम पाँच ओभरमा ६ विकेट लिँदै मात्र ३९ रन खर्चेर खेलमा प्रभावशाली पुनरागमन गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्