अर्किड कपः सुधा सागर, विद्यावाणी, कस्तुप, एजिएम स्कुल र निर्मल ज्योति अर्को चरणमा प्रवेश

काठमाडौँ –  कागेश्वरी मनोहरा नगरपालिका–९  गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलको खेल मैदानमा जारी १० औँ संस्करणको विद्यालयस्तरीय ‘अर्किड कप’ फुटबल प्रतियोगिताअन्तर्गत विभिन्न खेलहरू उत्साहजनक रूपमा सम्पन्न भएका छन्। आज भएका खेलहरूमा फराकिला जितसँगै पेनाल्टी सुटआउटको रोमाञ्चक दृश्यले खेललाई अझ रोचक बनाएको थियो ।

भीमेश्वर एकेडेमी र सुधा सागरबीच भएको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि निर्णयका लागि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा सुधा सागर ४–३ गोलले विजयी हुँदै अर्को चरणमा प्रवेश गर्न सफल भयो। उत्कृष्ट प्रदर्शनका बाबजुद भीमेश्वर एकेडेमीका मिलन श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए।

विद्यावाणी स्कुल र नेरीक एकेडेमीबीचको खेलमा विद्यावाणीले एकतर्फी प्रदर्शन गर्दै ७–० गोल अन्तरको प्रभावशाली जित हात पार्‍यो। फराकिलो हार व्यहोरे पनि नेरीक एकेडेमीका रिमेश श्रेष्ठको व्यक्तिगत प्रदर्शन उल्लेखनीय रहँदा उनी ‘म्यान अफ द म्याच’ घोषित भए।

यसैगरी, सिबिआइए र कस्तुप एकेडेमीबीच भएको खेलमा कस्तुप २–० गोल अन्तरले विजयी भयो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका सिबिआइएका दिपसन सुनवार ‘म्यान अफ द म्याच’ घोषित भए।

एजिएम स्कुल र पीक प्वाइन्ट स्कुलबीच भएको खेलमा एजिएमले ३–० को सहज जित निकाल्दै आफ्नो बलियो उपस्थिति जनायो।

अर्को खेलमा आयोजक अर्किड प्युपल सेकेण्डरी स्कुल र निर्मल ज्योति आमनेसामने भएका थिए। प्रतिस्पर्धात्मक खेलमा निर्मल ज्योति २–० गोल अन्तरले विजयी बन्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका अर्किडका युशन पुरी ‘म्यान अफ द म्याच’ घोषित भए।

प्रतियोगितामा सहभागी टोलीहरूले उत्कृष्ट खेल कौशल, अनुशासन र टिमवर्क प्रस्तुत गरिरहेका छन्। नकआउट चरण नजिकिँदै जाँदा प्रतिस्पर्धा झन् रोमाञ्चक बन्दै गएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्