‘अर्किड कप’ फुटबल प्रतियोगितामा रोमाञ्चक प्रतिस्पर्धा, तेस्रो दिन आठ खेल सम्पन्न

काठमाडौँ – काठमाडौँको गोठाटारमा जारी विद्यालयस्तरीय ‘अर्किड कप’ फुटबल प्रतियोगिताको १० ‍‍औँ संस्करण फागुन १ गतेदेखि अर्किड खेल मैदानमा जारी रहेको छ। फागुन १० गतेसम्म चल्ने उक्त प्रतियोगिताको तेस्रो दिनको खेल उत्साह, ऊर्जा र प्रतिस्पर्धात्मक रह्यो। दिनभर सम्पन्न आठ खेलमा फराकिला जित, कडा प्रतिस्पर्धा र पेनाल्टी सुटआउटले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्‍यो।

तेस्रो दिन सोमबार भएको पहिलो खेल (म्याच नं. ८) मा नेपाल ताराले पिसपोइन्टविरुद्ध आक्रामक खेल प्रस्तुत गर्दै १-० को जित निकाल्यो। सुरुदेखि नै आक्रमणमा देखिएको नेपाल ताराका सरोज रिमाल उत्कृष्ट प्रदर्शनका कारण ‘म्यान अफ द म्याच’ घोषित भए।

म्याच नं. ९ मा निर्मल ज्योति र गणेश हिमालबीच कडा प्रतिस्पर्धा भयो। निर्धारित समयमा १-१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। रोमाञ्चक सुटआउटमा निर्मल ज्योति ३-२ ले विजयी बन्यो। हार व्यहोरे पनि गणेश हिमालका बिषेश तामाङको प्रभावशाली प्रदर्शनका लागि उनलाई ‘म्यान अफ द म्याच’ चुनियो।

म्याच नं. १० मा विद्या विकासले सगरमाथा गुरुकुलमाथि ४-१ को सशक्त जित निकाल्दै उपाधि दाबेदारी प्रस्तुत गर्‍यो। उत्कृष्ट तालमेल र आक्रामक खेल प्रदर्शन गरेका गिरीशान्त लम्साल ‘म्यान अफ द म्याच’ घोषित भए। त्यसैगरी, म्याच नं. ११ मा कसमिक र गोल्डेन बडबीचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकियो। पेनाल्टी सुटआउटमा कसमिक ४-३ ले विजयी बन्यो। उत्कृष्ट व्यक्तिगत प्रदर्शनका लागि गोल्डेन बडका निरज सार्की ‘म्यान अफ द म्याच’ घोषित भए।

म्याच नं. १२ मा लर्ड लाइट एकेडेमीले बाल गीताञ्जलीलाई ३-० ले पराजित गर्दै सहज जित दर्ता गर्‍यो। फरहान सिद्दिकी खेलका उत्कृष्ट खेलाडी घोषित भए। म्याच नं. १३ मा बेस्ट ग्रुपले भक्तपुर मोडर्न स्कुललाई ३-१ ले हरायो। हारका बाबजुद भक्तपुर मोडर्न स्कुलका सरोज उप्रेतीको प्रदर्शन प्रशंसनीय रहँदा उनी ‘म्यान अफ द म्याच’ चुनिए।

म्याच नं. १४ मा मोनास्टिकले सी.भी.एम.लाई ४-० ले पराजित गर्दै प्रभावशाली प्रदर्शन गर्‍यो। यद्यपि सी.भी.एम.का अमोल चौलागाईं उत्कृष्ट खेल प्रदर्शनका कारण ‘म्यान अफ द म्याच’ घोषित भए। दिनको अन्तिम खेल (म्याच नं. १५) मा लाइसियमले बिश्वज्ञान स्कुललाई ३-० ले पराजित गर्‍यो। बिश्वज्ञान स्कुलका श्रेयांशु प्रसाई उत्कृष्ट प्रदर्शनका लागि ‘म्यान अफ द म्याच’ घोषित भए।

समग्रमा, प्रतियोगितामा सहभागी टोलीहरूले उत्कृष्ट टिमवर्क, अनुशासन र खेलभावना प्रस्तुत गरेका छन्। नकआउट चरण नजिकिँदै जाँदा प्रतिस्पर्धा झन् तीव्र बन्दै गएको छ। फागुन १० गते हुने फाइनल खेलतर्फ अहिले सबैको ध्यान केन्द्रित भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्