चुनावी रणनीतिमा नयाँ मोड ? एमालेले प्रत्यक्षतर्फका महिला उम्मेदवारलाई काठमाडौं बोलायो

FILE PHOTO

काठमाडौं । चुनावी सरगर्मी तीव्र भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले देशभरका प्रत्यक्षतर्फका महिला उम्मेदवारलाई आकस्मिक रूपमा काठमाडौं बोलाएको छ। केन्द्रीय कार्यालयले फागुन ६ गतेभित्र अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको हो।

चुनावी कार्यक्रममै व्यस्त रहेका उम्मेदवारहरूलाई एक दिनका लागि घरदैलो तथा क्षेत्रीय कार्यक्रम स्थगित गरेर काठमाडौं आउन भनिएको एक उम्मेदवारले नेपाल प्रेसलाई जानकारी दिए। तर बोलाउनुको कारणबारे भने उनीहरूलाई स्पष्ट जानकारी गराइएको छैन। केन्द्रीय कार्यालय स्रोतले पनि बैठक ‘आन्तरिक विषय’ भएको बताउँदै विस्तृत कारण खुलाउन चाहेन।

एमालेले फागुन ७ गते आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ। यसै सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल तथा महासचिव शंकर पोखरेल लगायत शीर्ष नेताहरू पनि आ–आफ्नो क्षेत्रमा जारी चुनावी अभियान छाडेर काठमाडौं फर्किने भएका छन्।

महासचिव पोखरेलको सचिवालयका अनुसार उनी फागुन ६ गते काठमाडौं आइपुगेर ७ गते बेलुकी पुनः दाङ फर्किने कार्यतालिका रहेको छ। एमालेका एक नेताले घोषणापत्र सार्वजनिक गर्न मात्र नेताहरू लर्को लाग्नुपर्ने अवस्था नदेखिएको भन्दै चुनावी रणनीतिमा केही नयाँ निर्णय वा सन्देश आउन सक्ने संकेत गरे।

एमालेले प्रतिनिधिसभाको १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये १० स्थानमा महिला उम्मेदवार अघि सारेको छ। कोशी प्रदेशअन्तर्गत सोलुखुम्बुमा कल्पना राई, ओखलढुंगामा अस्मिता थापा र सुनसरी–३ मा भगवती चौधरी उम्मेदवार छन्। मधेश प्रदेशमा बारा–३ मा ज्वालाकुमारी साह, महोत्तरी–४ मा निलम अधिकारी, धनुषा–३ मा जुलीकुमारी महतो र पर्सा–२ मा रिमाकुमारी यादव उम्मेदवार छन्।

यस्तै गण्डकी प्रदेशको बागलुङ–२ मा मञ्जु शर्मा र तनहुँ–१ मा भगवती न्यौपाने तथा लुम्बिनी प्रदेशको बर्दिया–2 मा विमला विक उम्मेदवार रहेका छन्।

तर समानुपातिकतर्फका महिला उम्मेदवारलाई भने काठमाडौं बोलाइएको छैन। समानुपातिक उम्मेदवार क्रान्ति बुर्लाकोटीले आफूलाई कुनै जानकारी नभएको बताइन्। ‘पार्टीले समानुपातिक उम्मेदवारलाई आफ्नै क्षेत्रमा सक्रिय रहन निर्देशन दिएको छ। सोही अनुसार म चुनावी कार्यक्रममा सहभागी भइरहेकी छु, तर काठमाडौं बोलाइएको छैन,’ उनले बताइन्।

एमालेको यो निर्णयले चुनावी रणनीतिमा नयाँ मोड आउने संकेत गरेको विश्लेषकहरू बताउँछन्। घोषणापत्र सार्वजनिक हुने मिति नजिकिँदै जाँदा पार्टीले महिला उम्मेदवारको भूमिकालाई कसरी सशक्त बनाउने वा कुनै विशेष रणनीतिक निर्णय सार्वजनिक गर्ने हो भन्ने चासो बढेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्