काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ। निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८’ बमोजिम विशेष मतदाता शिक्षा कार्यक्रम स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो।
आमनागरिकलाई मताधिकारको महत्व, मतदानको प्रक्रिया तथा सही तरिकाले मत हाल्ने विधिबारे जानकारी दिने उद्देश्यले आयोगले उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ। आयोगका अनुसार प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनुका साथै बदर मतको अनुपात घटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
आजदेखि सुरु भएको कार्यक्रम फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा सञ्चालन हुनेछ। प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। स्वयंसेवकहरूले मतदाताको बस्ती तथा घरदैलोमा पुगेर नमूना मतपत्रमार्फत निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे जानकारी गराउने आयोगले जनाएको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सातै प्रदेश सरकार, सबै स्थानीय तह, निर्वाचनमा प्रतिस्पर्धा गर्ने राजनीतिक दल, उम्मेदवार तथा सञ्चार क्षेत्रलगायत सम्पूर्ण सरोकारवालासँग सहयोग, समन्वय र सहजीकरणका लागि अनुरोध गरिएको छ।







