काठमाडौं । आज हिन्दू धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी तथा साधुसन्तहरूको उल्लेख्य चहलपहल देखिएको छ। मन्दिर क्षेत्रमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भने देश–विदेशबाट आएका भक्तजनको उपस्थितिले क्षेत्रको रौनकता झनै बढाएको छ।
महाशिवरात्रिको पूर्वसन्ध्यादेखि नै मन्दिर आसपासका क्षेत्रमा साधुसन्त तथा श्रद्धालुको आगमन तीव्र भएको थियो। पशुपति क्षेत्र विकास कोष का कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशी का अनुसार यस वर्ष करिब आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ भने करिब चार हजार साधुसन्तको उपस्थिति रहने अपेक्षा गरिएको छ।
दर्शनार्थीको अत्यधिक भीड व्यवस्थापन गर्न चारवटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाइएको कोषले जनाएको छ। आज बिहान ४ः०० बजेदेखि मन्दिरका चारवटै ढोका खुला गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विशिष्ट अतिथिका लागि छुट्टै लाइनको व्यवस्था गरिएको छ। साथै खानेपानी, शौचालय, विश्रामस्थल र प्राथमिक उपचार केन्द्रहरूको सङ्ख्या बढाइएको छ।
सुरक्षा व्यवस्थालाई समेत कडाइ गरिएको छ। कोषका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। भीड नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपत्कालीन उद्धार तथा शङ्कास्पद गतिविधिको निगरानीका लागि सिसीटिभी क्यामेरा तथा मोबाइल गस्ती बढाइएको जनाइएको छ।
यता काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराई ले पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइएको जानकारी दिनुभयो। दर्शनार्थीको सुरक्षाका लागि १३ बुँदे अनुरोध जारी गरिएको पनि उहाँले बताउनुभयो।
महाशिवरात्रिका अवसरमा नेपाल तथा भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तका लागि अस्थायी आवास, भोजन तथा सुरक्षा व्यवस्था मिलाइएको छ। कोषले स्वयंसेवक परिचालन गरी श्रद्धालुलाई सूचना, सहजीकरण र मार्गनिर्देशन गर्ने व्यवस्था गरेको छ भने माइकिङ प्रणालीमार्फत भीडको अवस्था र सुरक्षासम्बन्धी सूचना निरन्तर प्रसारण भइरहेको छ।
कोषले श्रद्धालुहरूलाई धैर्यतापूर्वक लाइनमा बसी दर्शन गर्न, सरसफाइमा सहयोग गर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ। महाशिवरात्रि पर्वलाई शान्त, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै पक्षसँग समन्वय गरिएको जनाएको छ।







