काठमाडौँ । नेपाली कांग्रेस ले आज आफ्नो चुनावी प्रतिज्ञापत्र निर्वाचन आयोगमा बुझाउने भएको छ। यसअघि आजै सार्वजनिक गर्ने तयारी गरिएको प्रतिज्ञापत्र संशोधित कार्यक्रमअनुसार अब मधेश प्रदेशको जनकपुरधाममा बुधवार सार्वजनिक गरिने भएको छ।
कांग्रेसका प्रवक्ता देवराज चालिसे ले पार्टी कार्यालय सानेपामा तय गरिएको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो। उहाँका अनुसार यही ६ गते जनकपुरधामबाट चुनावी सभाको शुरुआत गरिँदैछ र सोही सभामै प्रतिज्ञापत्र सार्वजनिक गरिनेछ।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरूलाई आजसम्म घोषणापत्र पेस गर्न समयसीमा दिएको छ। यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल, आम जनता पार्टी लगायतले आफ्नो चुनावी घोषणापत्र तथा संकल्पपत्र सार्वजनिक गरिसकेका छन्।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी लगायत केही दलको घोषणापत्र भने सार्वजनिक हुन बाँकी रहेको छ।







