नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ मा निर्वाचन लक्षित बृहत् कार्यकर्ता भेला सम्पन्न

भक्तपुर – नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ मा निर्वाचन लक्षित बृहत् कार्यकर्ता भेला सम्पन्न भएको छ । निर्वाचन परिचालन समितिको आयोजनामा भएको उक्त भेलामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार कबिर राणालाई आसन्न निर्वाचनमा विजयी गराउने बारे छलफल भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे सहभागी हुनुभएको थियो। महामन्त्री घिमिरेले भक्तपुर–२ को भेलालाई पहिलो पटक सम्बोधन गर्दै ऐतिहासिक सन्दर्भ प्रस्तुत गर्नुभयो। उहाँले भन्नुभयो, “मैले यसअघि पहिलो पटक सम्बोधन गरेका क्षेत्रका उम्मेदवारहरू विजयी भएका उदाहरणहरू छन्। त्यसैले भक्तपुर–२ मा पनि कांग्रेसका उम्मेदवार कबिर राणाको विजय सुनिश्चित छ भन्ने विश्वासका साथ म यहाँ आएको हुँ।”

उहाँले कांग्रेस लोकतन्त्र, संविधान र समृद्धिको पक्षमा दृढ रहेको उल्लेख गर्दै कार्यकर्तालाई एकताबद्ध भई घरदैलो अभियानलाई तीव्र बनाउन निर्देशन दिनुभयो। “अबको चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, देशको दिशा तय गर्ने अवसर हो,” उहाँको भनाइ थियो।

उम्मेदवार कबिर राणाले भक्तपुर–२ को समग्र विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताउनुभयो। शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, युवा रोजगारी र सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “म ४० वर्षदेखि सक्रिय राजनीतिमा रहँदै आएको छु। अब अनुभवलाई विकासमा रूपान्तरण गर्ने समय आएको छ। भक्तपुर–२ लाई नमुना निर्वाचन क्षेत्र बनाउने मेरो लक्ष्य हो।”

निवर्तमान सांसद तथा भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले पार्टीको संगठन बलियो रहेको दाबी गर्दै कार्यकर्तालाई उत्साहपूर्वक चुनावी अभियानमा जुट्न आग्रह गर्नुभयो। “भक्तपुर–२ मा कांग्रेसको आधार सुदृढ छ। यदि हामी एकताबद्ध भएर लाग्यौँ भने विजयलाई कसैले रोक्न सक्दैन,” उहाँले भन्नुभयो।

भेलामा क्षेत्रीय, नगर तथा वडास्तरका नेता–कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा आगामी निर्वाचन रणनीति, घरदैलो कार्यक्रम, प्रचार–प्रसार योजना तथा मतदाता सम्वादलाई तीव्र बनाउने विषयमा समेत छलफल भएको आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्