काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनसम्बन्धी सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषणमार्फत मतदातालाई सचेत बनाउन आमसञ्चारमाध्यम तथा पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ। आज निर्वाचन आयोगले काठमाडौँमा आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार’ विषयक कार्यशाला गोष्ठी एवं मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्ता कार्यक्रम मतदाता शिक्षा तथा सचेतनाका लागि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। यसले निर्वाचनसम्बन्धी सही सूचना प्रवाह गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन सामग्री आयोगमा पुगिसकेको र जिल्ला–जिल्लामा पठाइसकिएको जानकारी दिनुभयो। यसले मतदान अधिकृतहरूलाई तालिम लिनुअघि नै सामग्री बुझ्ने वातावरण सिर्जना गरेको छ। उहाँले अहिले निर्वाचनको स्वच्छ तथा सङ्लो वातावरण बनेको बताउँदै यसलाई कसैले पनि धमिलो बनाउन नहुनेमा जोड दिनुभयो।
“मुलुकलाई अप्ठ्यारो अवस्थाबाट चलायमान बनाउने प्रमुख माध्यम निर्वाचन नै हो”, उहाँले भन्नुभयो। फागुन ४ गतेदेखि प्रचारप्रसारको समय तोकिएकाले यो अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन बढी हुने सम्भावना रहेको उल्लेख गर्दै आमसञ्चारमाध्यम र पत्रकारहरू पनि बढी सचेत रहनुपर्नेमा जोड दिनुभयो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले नकारात्मक सोच राखेर काम गरेमा त्यसबारे समाचार सम्प्रेषण गरी खबरदारी गर्न पनि उहाँले अनुरोध गर्नुभयो। यो वर्ष निर्वाचनको ठीकअघि साढे नौ लाखभन्दा बढी नयाँ मतदाता थपिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले विगतका निर्वाचनहरूमा यति ठूलो सङ्ख्यामा मतदाता थपिएको इतिहास नभएको बताउनुभयो। आयोगका सचिव कृष्णबहादुर राउतले लोकतन्त्र र निर्वाचन एकअर्काका पूरक भएको बताउँदै आममतदातालाई निष्पक्ष तथा तटस्थ सूचना प्रवाह गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। निर्वाचनका समयमा हुने बहसहरूलाई प्रभावित गर्ने माध्यम भएकाले सञ्चारमाध्यमले ‘वाचडग’को भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो।
सही सूचना नपाउँदा जनता भ्रममा पर्न सक्ने भएकाले सञ्चारमाध्यम तथा पत्रकारहरूले सकारात्मक तथा विश्वसनीय ढङ्गले काम गर्नुपर्नेमा सचिव राउतले जोड दिनुभयो।
राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले उन्नत लोकतन्त्रका लागि उन्नत निर्वाचन प्रणाली आवश्यक पर्ने बताउँदै मतदातालाई मतदान केन्द्रसम्म ल्याउने वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो। मतदानपछि मतगणना तथा परिणाम सार्वजनिक नहुँदासम्म सञ्चारमाध्यमले निर्वाचनलाई निरन्तर पछ्याउनुपर्ने उहाँले उल्लेख गर्नुभयो।
बहुदलीय लोकतन्त्रमा पत्रकारको राजनीतिक विचार भए पनि निर्वाचनका बेला दलगत नभई स्वच्छ निर्वाचनका लागि भूमिका खेल्नुपर्ने अध्यक्ष झाको मत थियो। प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले समाचार लेख्दा सम्बन्धित व्यक्तिको स्थानमा बसेर चिन्तन गरे धेरै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। परिवर्तित परिस्थितिमा पत्रकारिताको मनस्थिति नबदलिएकाले समस्या रहेको उहाँको विचार थियो। सामाजिक सञ्जालले बिगार्दै गरेको भए पनि सुधारका प्रयास नभएको उल्लेख गर्दै दृष्टिकोण बदल्न आवश्यक रहेकोमा जोड दिनुभयो।
आयोगका निर्वाचन व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्रकुमार केसीले यस्ता कार्यक्रमले मत खसाल्न जाने मतदाताको सङ्ख्या बढाउन सहयोग पुग्ने बताउनुभयो। पत्रकारहरूबाट प्रसारित समाचारले सदर मत सङ्ख्या वृद्धि गर्न सक्ने र गलत, भ्रामक तथा द्वेषपूर्ण सूचना घटाउने अपेक्षा गरिएको उहाँको भनाइ थियो। यो कार्यशाला आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वतयारीस्वरूप आयोजना गरिएको हो, जसले स्वच्छ, निष्पक्ष तथा भयरहित निर्वाचनमा सञ्चार जगतको सक्रिय सहभागितालाई जोड दिएको छ।








