वीरगञ्ज । गत सोमबार वीरगञ्जस्थित अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल को संयुक्त टोलीले सोमबार वीरगञ्ज महानगरपालिका–आदर्शनगरस्थित मदन गुप्ताको गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहले आक्रमण गरेको थियो। उक्त घटनामा तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए भने सशस्त्र प्रहरीका दुई वटा सवारीसाधनमा क्षति पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार आक्रमणमा संलग्न छ जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रोसम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगर–१० घडीअर्वाका प्रमोदकुमार कानु र कुञ्जन सर्राफ, वीरगञ्ज–१ छपकैयाका दिपराज सहनी मलाह, विन्दवासिनी गाउँपालिका–५ का श्रीचन्द्रप्रसाद साह तथा भारतको विहार राज्य घर भएका प्रभु महतो र पृतमकुमार चौधरी रहेका छन्।
संयुक्त टोलीले भन्सार छली गरी सामान भित्र्याएको आशङ्कामा आदर्शनगरस्थित गोदाममा छापा मारेको थियो। सो क्रममा अवैध रूपमा भण्डारण गरिएको कपडा बरामद गर्ने प्रयास गर्दा झडप भएको जनाइएको छ। उक्त स्थानबाट करिब रु १२ लाख ५० हजार मूल्य बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।







