काठमाडौं । बंगलादेशमा अपदस्त प्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिग लाई प्रतिबन्ध लगाएर सम्पन्न भएको आम निर्वाचनमा बेगम खालिदा जियाका छोरा तारिक रहमान नेतृत्वको बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले दुई तिहाई बहुमत हासिल गरेको छ ।
सन् २००६ मा खालिदा जियालाई शेख हसिनाले पराजित गरी सत्तामा पुगेपछि बीएनपी सत्ताबाहिर थियो । करिब २० वर्षपछि बीएनपीले पुनः शक्तिशाली कमब्याक गरेको हो । पछिल्लो परिणामअनुसार दुई सीटको नतिजा आउन बाँकी रहँदा बीएनपीले २०९ सीट जित्दै स्पष्ट दुई तिहाई बहुमतसहित सरकार बनाउने अवस्थामा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
यसअघि प्रतिबन्धमा परेको जमात-ए-इस्लामी ले ६८ सीट जित्दै प्रमुख प्रतिपक्षी दलको स्थान सुरक्षित गरेको छ । यस्तै, विद्यार्थी आन्दोलनबाट उदाएको नेपाल सिटिजन पार्टी ले ६ सीट जितेको छ । उक्त पार्टीको नेतृत्व विद्यार्थी आन्दोलनका अगुवा नाहिद इस्लाम ले गरेका छन् र उनी स्वयं पनि सांसदमा निर्वाचित भएका छन् । उक्त पार्टीले जमातसँग तालमेल गरी चुनाव लडेको थियो ।
निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको आयोगले जनाएको छ । अन्य साना दलहरूले ७ सीट तथा स्वतन्त्र उम्मेदवारहरूले ७ स्थानमा विजय हासिल गरेका छन् ।
यता जमात-ए-इस्लामीले मतगणनाप्रति असन्तुष्टि जनाउँदै धाँधलीको आरोप लगाएको छ । राजनीतिक विश्लेषकहरूले भने बीएनपीको जितलाई स्वाभाविक ठहर गर्दै अब बंगलादेश स्थिर र सहज लोकतान्त्रिक प्रक्रियातर्फ अघि बढ्ने अपेक्षा व्यक्त गरेका छन् ।







