ब्याँसका गाउँबस्तीमा कांग्रेसको घरदैलो तीव्र, धर्मानन्द जोशी भन्छन्– “दार्चुलाको सुधारका लागि अन्तिम परीक्षा दिन आएको छु”
दार्चुला । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले ब्याँस गाउँपालिकाका विभिन्न गाउँबस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन् ।
नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवार धर्मानन्द जोशी र समानुपातिकतर्फका उम्मेदवार करबिर बहादुर कार्की नेतृत्वको प्रचार–प्रसार टोलीले ब्याँस गाउँपालिका वडा नम्बर ५ का स्याकु र चन्दाकोट तथा वडा नम्बर ६ हुतीमा आम मतदाता, कांग्रेसका अगुवा नेता तथा कार्यकर्तासँग निर्वाचन लक्षित भेटघाट तथा अन्तरक्रिया गरेको हो ।
चन्दाकोटमा आयोजित कार्यक्रममा स्थानीय रामदत्त भट्टले कांग्रेसकै नेतृत्वमा स्थानीय सरकार हुँदा चन्दाकोट जोड्ने सडक पुगेको र प्रदेशबाट भूमिराज मन्दिर निर्माणका लागि बजेट विनियोजन भएको उल्लेख गर्दै विकास गर्ने पार्टी कांग्रेस नै भएको बताए । उनले उम्मेदवार जोशी समाजसेवी, इमान्दार र स्वच्छ छविका व्यक्ति भएको दाबी गर्दै रुख चिन्हमा मतदान गरी विजयी गराउन चन्दाकोटबासी एकढिक्का भएर लाग्ने बताए ।
नेपाली कांग्रेस ब्याँस–५ का सभापति नरसिंह धामीले वर्तमान राजनीतिक परिवेशमा दार्चुलाका लागि योग्य, सक्षम र बौद्धिक उम्मेदवार धर्मानन्द जोशी रहेको भन्दै पार्टीभित्र एकता कायम गरी चुनावमा होमिनुपर्नेमा जोड दिए ।
यस्तै हुतीमा आयोजित कार्यक्रममा कांग्रेसका सचिव पुलेन्द्र बहादुर कार्कीले कांग्रेस केवल राजनीतिक दल मात्र नभई देशलाई विभिन्न संकटबाट मुक्त गराउने राष्ट्रिय शक्ति भएको बताए । संविधान र लोकतन्त्रको रक्षा, सुशासन स्थापना तथा भ्रष्टाचार अन्त्यका लागि कांग्रेसलाई विजयी गराउनुपर्ने उनले उल्लेख गरे ।
कार्यक्रममा बोल्दै उम्मेदवार धर्मानन्द जोशीले आफू सन् २००६ देखि २००९ सम्म संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति तथा राजनीतिक क्षेत्रमा कार्य गरेको तथा त्यसपछि अफगानिस्तान र इराकलगायत देशमा द्वन्द्व व्यवस्थापनमा संलग्न रहेको अनुभव सुनाए । उनले मानवअधिकार, राजनीतिक तथा चुनावी मामिलासम्बन्धी विभिन्न देशमा तालिम तथा अनुभव हासिल गरेको उल्लेख गर्दै अब नीति निर्माण तहमा पुगेर शिक्षा, स्वास्थ्य, मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अठोटका साथ उम्मेदवार बनेको बताए ।
“मैले जीवनमा धेरै परीक्षा दिएको छु, दार्चुलाको सुधारका लागि यसपटक अन्तिम विषयको परीक्षा दिन म रुख चिन्ह लिएर उम्मेदवार बनेको छु,” जोशीले भने ।
ब्याँसका विभिन्न गाउँबस्तीमा भेटघाटका क्रममा आम मतदाता तथा कार्यकर्ताबाट प्राप्त स्नेह र सद्भावले अत्यधिक मत प्राप्त हुने विश्वास आफूमा रहेको उनले बताए ।
घरदैलो कार्यक्रममा जिल्ला सभापति ललित सिंह बोहरा, सचिव पुलेन्द्र बहादुर कार्की, महासमिति सदस्य हरक बिष्ट, महाधिवेशन प्रतिनिधि तथा पूर्व ब्याँस गाउँपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकी, कांग्रेस नेता सन्तोष ऐतवाल, ब्याँस गाउँपालिका सभापति नरेन्द्र दत्त भट्ट, प्रदेशसभा क्षेत्रीय कार्यसमिति उपसभापति बिरादत्त भट्ट, सहसचिव कलम धामीलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।







