राजावादी प्रदर्शनको आशंकामा काठमाडौंमा उच्च सतर्कता, विमानस्थलमा कडा सुरक्षा

FILE PHOTO

काठमाडौं । राजावादी समूहको सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरीले काठमाडौंका मुख्य सडक तथा चोकहरूमा शुक्रबार बिहानैदेखि सुरक्षा सतर्कता बढाएको छ । जिल्ला प्रहरी परिसरका अनुसार नियमित गस्ती टोलीसँगै अतिरिक्त प्रहरी टोलीसमेत स्ट्याण्डबाइ राखिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले विभिन्न सडक, चोक तथा गल्लीमा हुनसक्ने अराजकतापूर्ण गतिविधिप्रति सचेत रहँदै थप संख्यामा प्रहरी परिचालन गरिएको जानकारी दिए । आवश्यक परे तुरुन्त परिचालन गर्न सकिने गरी थप मद्दत टोली तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।

राजावादी समूहले दिउँसो १२ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं अवतरण गरेपछि स्वागत कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । सोही कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बिहानैदेखि विमानस्थल प्रवेश गर्ने यात्रु तथा सर्वसाधारणको चेकजाँचमा कडाइ गरिएको छ । यद्यपि विमानस्थल सुरक्षा प्रमुख एसएसपी वसन्त रजौरेले चेकजाँच नियमित सुरक्षा प्रक्रियाअन्तर्गतकै कार्य भएको बताएका छन् ।

संभावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै काठमाडौंका विभिन्न गण, गुल्म तथा अन्य प्रहरी इकाइहरूलाई समेत तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्