काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ ।
आज दिउँसो तराई भू–भागका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने देशका अन्य क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले तराई क्षेत्रमा तत्काल वर्षाको सम्भावना नरहेकाले हुस्सु तथा तुँवालोका कारण वायु प्रदूषण कायमै रहने जनाएको छ । त्यसबाट उत्पन्न स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।








