काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १ सय २४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न गरेको जनाएको छ । आयोगका अनुसार हिजोसम्म कूल १ करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ सकिएको छ ।
आयोगले छपाइ सम्पन्न भएका मतपत्र कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा पठाउन थालेको छ । कर्णालीका १२ निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी प्रक्रिया सुरू गरिएको आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत जिल्लाका निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको छ ।
आयोगका अनुसार हालसम्म १४ हजार ३ सय ४१ बाकस मतपत्र प्याकिङ सम्पन्न भएको छ । दैनिक झन्डै १ हजार बाकस मतपत्र प्याकिङ र करिब १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ कार्य भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा भइरहेको छ । आयोगले पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकेको जनाएको छ ।







