काठमाडौं — नेपालले इटालीसँग लज्जास्पद हार व्यहोरेको छ । आइसीसी टी–२० विश्वकप अन्तर्गत समूह C को महत्वपूर्ण खेलमा नेपाल राष्ट्रिय क्रिकेट टिमले इटालीलाई समथर चुनौती दिन सकेन र १० विकेटले पराजित भयो।
नेपालले पहिले ब्याटिंग गर्दै निर्धारित २० ओभरमा १२३ रनमा अलआउट भएको थियो। टिमका लागि आरिफ सेखले सर्वाधिक २७, कप्तान रोहित पौडेलले २३, आसिफ सेखले २० तथा दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए। अन्त्यतिर करण केसी अविजित १८ रनमा फर्किए। इटालीका बलर क्रिशान कालुगामाजले ३ र बेन मानेनटीले २ विकेट लिए, भने जे जे स्मुटस, जसप्रीत सिंह र अलि हसनले एक–एक विकेट लिए।
नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले १२.३ ओभरमा कुनै विकेट गुमाए बिना पूरा गर्यो र लाजमर्दो जीत दर्ता गर्यो। इटालीका ओपनर दाजुभाइ जस्टिन मोस्का (६०) र एन्थोनी मोस्का (६२) ले शानदार साझेदारी गर्दै टिमलाई सहज जित दिलाए।
यस हारसँगै नेपालको सुपर ८ मा पुग्ने सम्भावना कठिन बनिसकेको छ। अब नेपालले अर्को खेल आइतबार वेस्ट इण्डिज सँग खेल्नेछ भने फेब्रुअरी १७ मा स्कटल्याण्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
इटालीका लागि यो नै पहिलो पटक विश्वकपमा खेल्दा ऐतिहासिक जित हो। समूहको आफ्नो पहिलो खेल स्कटल्याण्डसँग हार्नुका बाबजुद, इटालीले नेपालविरुद्ध जित दर्ता गरेर दुई महत्वपूर्ण अंक हात पार्न सफल भएको छ।







