काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक छपाइ सामग्री छापिएर निर्वाचन आयोगमा आउन शुरू भएको छ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको छापाखानामा छापिएका मतदान निर्देशिका, मतगणना निर्देशिका, निर्वाचनसम्बन्धी ऐन, नियम तथा अन्य आवश्यक निर्देशिका पर्याप्त मात्रामा छापिइसकेर आयोगमा आउने क्रम शुरू भएको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो।
छापिएर आएका सामग्री निर्वाचनका अन्य आवश्यक सामग्रीसँगै ७७ वटै जिल्लामा पठाउने गरी तयारी गरिएको आयोगले जनाएको छ। प्रतिष्ठानबाट पहिलो चरणमा पाँच हजार थान छपाइ सामग्री प्राप्त भएको जिसीले बताउनुभयो।
बाँकी सामग्री पनि क्रमशः प्राप्त हुँदै जाने र प्राप्त हुनासाथ जिल्ला–जिल्लामा पठाउन तयारी अवस्थामा राखिने आयोगको तयारी छ।
यसैबीच, मतपत्र भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ भइरहेको निर्वाचन आयोगले जनाएको छ।







