आईसीसी टी–२० विश्वकपः दोस्रो खेलमा जितको खोजीमा नेपाल, आज इटालीसँग प्रतिस्पर्धा

PHOTO: CAN

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत दोस्रो खेलमा नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ।

नेपाल र इटालीबीचको खेल मुम्बईको वानखेड़े स्टेडियममा दिउँसो सवा ३ बजे सुरु हुनेछ। यसअघि आइतवार सम्पन्न खेलमा इङ्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल ४ रनले चुकेको थियो। अघिल्लो विश्वकपमा पनि दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको नेपाल यसपटक इतिहास बदल्ने लक्ष्यमा छ।

तीन पटक विश्वकप खेलिसकेको नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन। यसपटक पनि कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा नेपाली टोली विश्वकपमा प्रतिस्पर्धा गरिरहेको छ। समूह ‘सी’ मा रहेको नेपालसँगै दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन्। बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी वरियताका आधारमा स्कटल्यान्डले अवसर पाएको हो।

विश्वकप खेल्ने नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन्।

विश्वकपमा पहिलोपटक सहभागी भएको इटाली नयाँ टोली भए पनि प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। इटाली पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो। दुवै टोली पहिलो जितको खोजीमा रहेका कारण आजको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ।

नेपालले समूह चरणको तेस्रो खेल फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने तालिका रहेको छ। आज विश्वकपअन्तर्गत बिहान सवा ११ बजे श्रीलंका र ओमान तथा बेलुकी सवा ७ बजे भारत र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्