भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘डी’को खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोहोरो सुपर ओभरपछि रोमाञ्चक रूपमा पराजित गरेको छ।
दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा १८७ रन बनाएको थियो। जवाफी ब्याटिङमा अफगानिस्तानले पनि दुई बल अगावै अलआउट हुँदै समान १८७ रन जोडेसँगै खेल सुपर ओभरमा पुगेको हो।
पहिलो सुपर ओभरमा अफगानिस्तानले १७ रन बनाउँदै १८ रनको लक्ष्य दिएको थियो। दक्षिण अफ्रिकाले पनि १७ रन नै बनाएपछि पहिलो सुपर ओभर बराबरीमा टुंगिएको थियो।
दोश्रो सुपर ओभरमा भने दक्षिण अफ्रिकाले आक्रामक ब्याटिङ गर्दै २४ रन बनायो र २५ रनको लक्ष्य प्रस्तुत गर्यो। लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान जितको नजिक पुगे पनि अतिरिक्त बलमा विकेट गुमाएपछि दक्षिण अफ्रिकाले रोमाञ्चक जित हात पारेको हो।
लगातार दोस्रो जितसँगै दक्षिण अफ्रिका समूह ‘डी’को अंक तालिकामा शीर्ष स्थानमा पुगेको छ भने अफगानिस्तानले लगातार दुई खेलमा हार व्यहोरेको छ।
विश्वकपअन्तर्गत आज दुई पटकका विश्व विजेता इङ्ल्याण्ड र वेस्ट इन्डिजबीचको खेल मुम्बईको वानखेडे क्रिकेट रंगशालामा जारी छ।







