सिन्धुली- बालविवाह अन्त्य गर्ने राष्ट्रिय लक्ष्यलाई सघाउने उद्देश्यले कमलामाई नगरपालिकामा “बाल विवाहमुक्त नेपाल: १०० दिने अभियान” अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ। राष्ट्रिय बाल अधिकार परिषद्को समन्वयमा सञ्चालन भइरहेको उक्त अभियान बागमती प्रदेशमा भ्वाइस अफ चिल्ड्रेनको सहकार्यमा अघि बढाइएको हो।
बालविवाह अझै पनि समाजमा जरा गाडेर बसेको गम्भीर सामाजिक समस्या हो। गरिबी, अशिक्षा, परम्परागत सोच र लैंगिक विभेदका कारण धेरै बालबालिका, विशेषगरी किशोरीहरू, कम उमेरमै विवाह बन्धनमा बाँधिन बाध्य छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार १८ देखि २० वर्ष उमेरमा पहिलो विवाह गर्नेको दर ३४.४ प्रतिशत, १५ देखि १७ वर्षमा २२.३ प्रतिशत, १० देखि १४ वर्षमा ७ प्रतिशत र १० वर्षमुनि ०.३ प्रतिशत रहेको छ।

नेपालले दीगो विकास लक्ष्य अनुरूप सन् २०३० सम्म बालविवाह पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य लिएको भए पनि प्रभावकारी कार्यान्वयनको अभावमा समस्या अझै कायमै छ। सिन्धुली जिल्ला बागमती प्रदेशमा बालविवाहको दर उच्च हुने जिल्लामध्ये चौथो स्थानमा रहेको जानकारी वडा नं. ७, गडौलीस्थित श्री माध्यमिक विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम पहाडीले दिएका छन्।
अभियानका क्रममा कमलामाई नगरपालिकाले सबै वडा, प्रहरी र विद्यालयसँग समन्वय गर्न आधिकारिक पत्र जारी गरेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख इन्दिरा थापा, सबित्रा देवकोटा, राधा कोइराला तथा भ्वाइस अफ चिल्ड्रेनका उप–निर्देशक उत्तम ढकालको सहभागितामा वडा नं. ७ मा बाल अधिकार समिति गठन गरिएको छ।

यसैबीच वडा नं. १ स्थित श्री चण्डेश्वरी मा.वि., वडा नं. ४ का पञ्चकन्या र बरुणदेवी मा.वि., वडा नं. ५ का जनज्योति मा.वि. तथा वडा नं. ७ का श्री मा.वि. गडौलीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। ती कार्यक्रममार्फत करिब २ हजार विद्यार्थीलाई बालविवाहका कारण, असर तथा कानुनी प्रावधानबारे जानकारी गराइएको छ।
भ्वाइस अफ चिल्ड्रेनले बालविवाह अन्त्यका लागि बहुपक्षीय सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सुनकोशी, गोलञ्जोर र मरिन गाउँपालिकासँग समेत सहकार्यको सम्भावनाबारे छलफल गरेको जनाएको छ। अभियानले समुदायस्तरमा सचेतना अभिवृद्धि गर्दै बालविवाहमुक्त समाज निर्माणमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।







