काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभारसमेत सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रियसभाको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छन्।
सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न १ः१५ बजे बस्ने बैठकमा प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका लागि प्रस्ताव गर्दै पारित गरियोस् भन्ने प्रस्तावसमेत सभासमक्ष पेश गर्ने कार्यसूची रहेको छ।
बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम पनि तय गरिएको छ।
यसैगरी, विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन’ पेश गर्नेछिन्।
त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ तथा सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।







