काठमाडौँ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विशेष मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ। मतदान प्रक्रियालाई सहज र सरल बनाउने तथा बदर मतको प्रतिशत घटाउने उद्देश्यसहित आयोगले फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो।
आयोगका अनुसार देशभरका ७ सय ५३ वटै पालिकाका ६ हजार ७ सय ४३ वटा वडामा एक/एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। स्वयंसेवकहरूले मतदाताको घरदैलो तथा बस्तीमै पुगेर नमूना मतपत्रमार्फत मतदान प्रक्रिया र निर्वाचनको महत्वबारे जानकारी गराउने कार्यक्रम तय गरिएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न तयारी पूरा भएको जानकारी दिनुभयो। आयोगले कार्यक्रम सफल बनाउन सातै प्रदेश सरकार, ७ सय ५३ वटै स्थानीय तह, राजनीतिक दल, उम्मेदवार तथा सञ्चार क्षेत्रलगायत सबै सरोकारवालासँग आवश्यक सहयोगको आग्रह गरेको छ।







