टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्यान्डको लगातार दोस्रो जित

आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तान र न्युजिल्यान्डले लगातार दोस्रो जित दर्ता गरेका छन् । कोलम्बोमा भएको खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेट गुमाएर १ सय ५८ रन मात्रै बनाउन सक्यो । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ९ विकेटको क्षतिमा १ सय ९० रन बनाएको थियो । यसअघि पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३ विकेटले हराएको थियो ।

यस्तै, यूएईलाई १० विकेटले पराजित गर्दै न्युजिल्यान्डले पनि दोस्रो जित हात पारेको छ । न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो । हिजोको अर्को खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको छ ।

प्रतियोगिताअन्तर्गत आज तीन खेल हुँदैछन् । अफगानिस्तान र दक्षिण अफ्रिका बिहान सवा ११ बजे अहमदावादमा खेल्दैछन् । अस्ट्रेलिया र आयरल्यान्डबीचको खेल दिउँसो सवा ३ बजे कोलम्बोमा हुनेछ भने इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच बेलुका सवा ७ बजे वानखेडेमा प्रतिस्पर्धा हुनेछ ।

नेपालले आफ्नो दोस्रो खेल भोलि इटालीसँग मुम्बईको वानखेडे स्टेडियममा दिउँसो सवा ३ बजे खेल्नेछ । पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो ।

प्रतियोगितामा २० टोली सहभागी छन् । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ चरणमा प्रवेश गर्नेछन् । सुपर–एटबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल मार्च ८ (फागुन २४) मा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्