आईसीसी टी-२० विश्वकपः इङ्ग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउदै नेपाल

काठमाडौँ— आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘सी’ को खेलमा इङ्ग्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनायो। इङ्ग्ल्यान्डका ज्याकब बेथेलले ५५ रनको अर्धशतकीय इनिङ खेले भने कप्तान ह्यारी ब्रूकले ५३ रन जोडे।

नेपालका तर्फबाट दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए। प्रतियोगितामा नेपाल र इङ्ग्ल्यान्ड दुवै टोलीको यो पहिलो खेल हो।

यसअघि आजै भएको पहिलो खेलमा अफगानिस्तानलाई पराजित गर्दै न्युजिल्यान्डले विजयी सुरुआत गरेको छ। आजकै तेस्रो खेलमा बेलुकी सवा ७ बजे श्रीलङ्का र आयरल्यान्ड आमनेसामने हुँदैछन्।

टी–२० विश्वकपमा कुल २० टोली सहभागी छन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स छन्। समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छन्। समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्। इटालीले पहिलो पटक टी–२० विश्वकपमा सहभागिता जनाउँदैछ। समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई) र क्यानडा छन्।

हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ चरणमा प्रवेश गर्नेछन्। ‘सुपर–एट’ मा चार–चार टोली दुई समूहमा विभाजन गरिनेछ, जहाँबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

टी–२० विश्वकपको १०औँ संस्करणको फाइनल खेल आगामी मार्च ८ मा हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्