टी-२० विश्वकपमा पहिलो खेल, नेपालको आज इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्ने

 

काठमाडौँ । १०औँ संस्करणको आईसीसी टी–२० विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेलमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईस्थित वानखडे स्टेडियममा हुने उक्त खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरू हुनेछ ।

नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यस पटक पनि रोहितकुमार पौडेलको कप्तानीमा नेपाल मैदान उत्रिँदैछ । साथै समूह चरणका सबै खेल नेपालले वानखडे स्टेडियममै खेल्ने तालिका रहेको छ ।

आज विश्वकपअन्तर्गत अन्य दुई खेल पनि हुँदैछन् । बिहान ११ बजे अफगानिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ भने बेलुका सवा ७ बजे श्रीलङ्का र आयरल्यान्ड आमनेसामने हुनेछन् ।

यसअघि हिजो सम्पन्न खेलमा पाकिस्तान, वेस्ट इन्डिज र आयोजक टोली भारतले विजयी सुरुवात गरेका छन् । पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले पराजित गर्दा वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले हराएको थियो । त्यस्तै भारतले अमेरिकामाथि २९ रनको जित निकालेको छ ।

सुरक्षा कारण देखाउँदै बङ्गलादेश भारत आउन अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले उसको स्थानमा स्कटल्यान्डलाई प्रतियोगितामा सहभागी गराएको हो ।

प्रतियोगितामा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । टी–२० विश्वकप आगामी मार्च ८ तारिखसम्म सञ्चालन हुनेछ । हालसम्म भारत, इंग्ल्याण्ड र वेस्ट इन्डिजले दुई–दुई पटक उपाधि जितेका छन् भने पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलियाले एक–एक पटक उपाधि हात पारेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्