काठमाडौं । १०औँ संस्करणको आईसीसी टी–२० विश्वकप आजदेखि भारत र श्रीलङ्कामा शुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स आमनेसामने हुँदैछन् । श्रीलङ्काको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरू हुनेछ ।
आज नै हुने अर्को खेलमा वेस्ट इन्डिज र स्कटल्याण्ड दिउँसो सवा तीन बजे भारतको इडेन गार्डेन्समा खेल्नेछन् । यस्तै, बेलुका सवा ७ बजे आयोजक भारत र अमेरिकाबीच मुम्बईको वानखेडे स्टेडियममा प्रतिस्पर्धा हुनेछ ।
यस विश्वकपमा नेपालले पनि सहभागिता जनाएको छ । नेपालले भोलि मुम्बईमा इङ्ग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको यात्रा शुरू गर्नेछ ।
सुरक्षा कारण देखाउँदै बङ्गलादेश भारत आउन नमानेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले उसको स्थानमा स्कटल्यान्डलाई प्रतियोगितामा समावेश गरेको छ ।
प्रतियोगितामा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छन् । समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् भने इटालीले पहिलो पटक टी–२० विश्वकप खेल्न लागेको हो । समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई) र क्यानडा छन् ।
प्रतियोगिता आउँदो मार्च ८ तारिखसम्म सञ्चालन हुनेछ । हालसम्म भारत, इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजले दुई–दुई पटक तथा पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलियाले एक–एक पटक टी–२० विश्वकपको उपाधि जितेका छन् ।







