निर्वाचनअघि चारवटै सुरक्षा निकायमा राजीनामा र बिदामा रोक

काठमाडौँ— प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चारवटै सुरक्षा निकायले मातहतका कर्मचारीलाई राजीनामा दिन र बिदा बस्न रोक लगाएका छन्।

२१ फागुनमा हुने निर्वाचनको सुरक्षा व्यवस्थापनमा केन्द्रित हुन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक परिपत्र जारी गर्दै निर्वाचन सम्पन्न नभएसम्म राजीनामा, घरबिदा र सरुवा स्थगित गरेका हुन्।

सशस्त्र प्रहरीले निर्वाचन नसकिँदासम्म राजीनामा, घरबिदा, रमाना र सरुवा स्थगित गरिएको जनाएको छ। नेपाली सेनाले पनि निर्वाचन सुरक्षामा तैनाथ भइसकेकाले मतदान सम्पन्न नभएसम्म नियमित बिदा वा राजीनामाको सुविधा नहुने स्पष्ट पारेको छ। नेपाल प्रहरीले समेत निर्वाचन सम्पन्न नभएसम्म राजीनामा र घरबिदामा बस्न रोक लगाएको जनाएको छ। अत्यावश्यक अवस्थामा भने विशेष व्यवस्थापन गरिने बताइएको छ।

निर्वाचन सुरक्षाका लागि सवा तीन लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन्। एकीकृत सुरक्षा योजनाअनुसार करिब ८० हजार सेना, ७१ हजार प्रहरी, ३५ हजार सशस्त्र प्रहरी र दुई हजार राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाइनेछ।

निर्वाचन आयोगले पनि निर्वाचन अवधिमा कर्मचारी सरुवा, बढुवा र मतदातालाई प्रभावित पार्ने निर्णय नगर्न सरकारलाई निर्देशन दिइसकेको छ। २१ फागुनमा समानुपातिकतर्फ ११० र प्रत्यक्षतर्फ १६५ सिटका लागि एकै चरणमा निर्वाचन हुँदैछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्