काठमाडौँ— निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाइ तथा प्याकिङको काम सम्पन्न भएको जनाएको छ।
आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा र सुनसरी जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ पूरा भइसकेको छ।
आयोगका अनुसार हालसम्म ६० जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको छ भने ती जिल्लाको प्याकिङ प्रक्रिया क्रमशः जारी छ। मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छ र यो कार्य अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ पूर्ण रूपमा सकिएको छ। यसतर्फ कूल २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ, रुजु तथा ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जानकारी दिएको छ।
प्रत्यक्षतर्फ भने कूल २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्नेछ। प्रत्यक्षतर्फको मतपत्र छपाइ माघ १६ गतेदेखि सुरु भएको हो। यसैबीच १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।








