बैतडीमा जन्ती बस दुर्घटना: मृतकको संख्या १३ पुग्यो, सबैको सनाखत

बैतडी-  बैतडीमा जन्ती सवार बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। दुर्घटनामा ज्यान गुमाउने सबै १३ जनाको सनाखत भइसकेको जिल्ला प्रहरीले जनाएको छ। पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर फर्किँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस सोही वडाको बढ्गाउँ मोडमा गएराति दुर्घटनामा परेको हो। बस सडकबाट करिब २ सय मिटर तल खस्दा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

दुर्घटनापछि बिहीबार रातिसम्म ८ जनाको मृत्यु पुष्टि भएको थियो। थप ५ जनाको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुका अनुसार डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, सोही स्थानका अन्दाजी २७ वर्षीय दीपक जोशी र अन्दाजी ४५ वर्षीय किसनदत्त जोशी रहेका छन्। यस्तै, बझाङ केदारस्यु गाउँपालिका–७ का अन्दाजी २६ वर्षीय केशवराज भट्ट र बैतडी पुर्चौडी नगरपालिका–७ का अन्दाजी १४ वर्षीय सुशील जोशीको पनि मृत्यु भएको छ।

यसैगरी दुर्घटनामा ज्यान गुमाउने अन्य व्यक्तिहरूमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशी रहेका छन्। साथै, बझाङ केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट र जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतलाको पनि मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएकामध्ये २५ जनाको डडेलधुरा अस्पतालमा र ४ जनाको बझाङस्थित देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ।

बस चालक विरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाबारे अनुसन्धान अघि बढाएको छ। बेहोरा–बेहोरी भने अर्को सवारी साधनमा रहेकाले सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।

जन्ती सवार बस बझाङको सुनकुडातर्फ फर्किने क्रममा दुर्घटनामा परेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्