बैतडीमा जन्ती बस दुर्घटना अपडेट: मृतक ८ जनाको पहिचान खुल्यो

धनगढी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ४५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ।

पुर्चौडी नगरपालिका–७ को भौनीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस पुर्चौडी नगरपालिका–७ बडूगाउँ मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दीपककुमार रायले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनापछि राति करिब ९:१० बजेको समयमा १८ महिला र २७ पुरुष गरी जम्मा ४५ जनालाई उद्धार गरी उपचारका लागि कोटिला स्वास्थ्य चौकी पठाइएको छ। घाइतेमध्ये ३२ जना हाल कोटिला स्वास्थ्य चौकीमा उपचाररत रहेको र तीमध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको बुझिएको छ।

दुर्घटनामा मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी (उपचारका क्रममा), ४२ वर्षीय नरेशराज जोशी (उपचारका क्रममा), बझाङ केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, बझाङ जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला र बैतडी पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थी रहेका छन्।

बस सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ पुर्चौडी र ढोल्यामोडबाट नेपाल प्रहरीको टोली घटनास्थलमा खटिएको छ भने इलाका प्रहरी कार्यालय पाटनबाट सशस्त्र प्रहरी बलका डीएसपी शंकर धामी नेतृत्वको टोली समेत परिचालन गरिएको छ। स्थानीय बासिन्दाले पनि उद्धार कार्यमा सहयोग गरिरहेका छन्।

घाइतेहरूलाई थप उपचारका लागि स्कुल बसमार्फत डडेल्धुरा अस्पताल लैजाने तयारी भइरहेको सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्मका गुल्मपति डीएसपी जंगबहादुर कुँवरले बताए।

दुर्घटनामा बस सडकबाट तल खसेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्