काठमाडौँ – निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ । निर्वाचन प्रचारप्रसार र मतदानको दिन सवारीसाधनको प्रयोगलाई व्यवस्थित र नियन्त्रित बनाउन उक्त कार्यविधि लागू गरिएको आयोगले जनाएको छ ।
कार्यविधिअनुसार राजनीतिक दल, उम्मेदवार वा उनका प्रतिनिधिले निर्वाचन प्रयोजनका लागि सवारीसाधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनुमति लिनुपर्नेछ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारले बढीमा दुईवटा हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन् भने स्थानीय तहका उम्मेदवारका लागि पनि पदअनुसार सवारीसाधनको सीमा तोकिएको छ ।
नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष वा उपाध्यक्षका उम्मेदवारलाई एउटा हलुका सवारीसाधन प्रयोग गर्न अनुमति दिइनेछ। वडाअध्यक्ष तथा वडा सदस्यका उम्मेदवारले भने उम्मेदवार भएको वडाभित्र मात्र प्रयोग गर्ने गरी एउटा सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। सवारीसाधन सञ्चालन नहुने स्थानमा गाउँपालिका वा नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि दुईवटा र वडा तहका उम्मेदवारका लागि एउटा घोडा प्रयोग गर्न सकिनेछ।
मौन अवधि मतदानअघिको ४८ घण्टादेखि मतदान सम्पन्न नभएसम्म कायम रहने र सो अवधिमा सवारीसाधन प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ । अनुमति बिना वा मौन अवधिमा सवारीसाधन प्रयोग गरेमा नियन्त्रणमा लिने प्रावधान पनि कार्यविधिमा उल्लेख छ ।
अत्यावश्यक सेवा, सुरक्षाकर्मी, सञ्चारमाध्यम, कूटनीतिक नियोग लगायतका लागि भने मतदानको दिन सवारीसाधन प्रयोगमा छुट दिइएको छ । विदेशी नम्बर प्लेटका सवारीसाधनलाई निर्वाचन प्रचारमा प्रयोग गर्न अनुमति नदिइने आयोगले स्पष्ट पारेको छ ।








